
धनगढी ।
प्रदेश सरकारले पाँच वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा ७ सय ६९ किलोमिटर सडक कालोपत्रे गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले मङ्गलबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । आफू आउनुभन्दा अगाडि चार सय र आफ्नो पालामा ३ सय ६९ किलोमिटर सडक कालोपत्रे भएको भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले बताए ।

यसैगरी, प्रदेश गौरवका नौ वटा सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने कार्य भएको जनाइएको छ। प्रदेशभरी दुई हजार ३१४.५० किलोमिटर ग्राभेल तथा कच्ची सडक निर्माणको कार्य भएको मन्त्रालयले जनाएको छ।

आफ्नो पालामा ६६ वटा सडक तथा पुलको बहुवर्षीय ठेक्का स्वीकृत, धनगढीको क्याम्पस रोडदेखि कैलाली पुलसम्म सडक कालोपत्रे गर्न ठेक्का आह्वानको कार्य भएको मन्त्री सोडारीले बताए ।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ६४.७० किलोमिटर तटबन्धन निर्माण भएको उहाँले जानकारी दिनुभयो। यसअघि, १ सय ५७ किलोमिटर तटबन्ध प्रदेश सरकारले बनाएको थियो। यसैगरी, पाँच वर्षमा प्रदेश सरकारले २० हजार ४ सय ३७ हेक्टर जमिनमा सिँचाइ सुविधाको व्यवस्था गरेको छ। आफ्नो पालामामात्रै सात हजार ४ सय ९३ हेक्टर जमिनमा सिँचाइ सुविधा भएको मन्त्री सोडारीले बताए ।
पाँच वर्षमा दुई लाख ८६ हजार ३ सय ८३ जनसङ्ख्यालाई स्वच्छ खानेपानीको सुविधा प्रदान गर्ने कार्य भएको मन्त्रालयले जनाएको छ। १ सय ६९ वटा सामुदायिक भवन निर्माण गरिएका छन् भने मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत तीन हजार ८ सय ८४ जनता आवास निर्माण भएको जनाइएको छ। आफ्नो पालामामात्रै ८ सय ८८ वटा जनता आवास निर्माण भएको मन्त्री सोडारीले बताए ।
यसैगरी, पाँच वर्षमा ४२ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । आफ्नो पालामा ११ वटा झोलुङ्गे पुल बनेको मन्त्रीले बताउनुभयो। मन्त्री सोडारीको पालामा पाँचसहित २७ वटा पक्की पुल निर्माण भएको मन्त्रालयले जानकारी दिएको छ । चार वटा यातायात कार्यालयको सुधार भइ तीन अर्ब ९० करोड ६७ लाख रुपियाँ राजस्व सङ्कलन भएको पत्रकार सम्मेलनमा जनाइएको छ।
एक हजार ८०३ वटा डिप ट्युवबेल निर्माणको कार्य भएको, समग्र प्रदेशको सिँचाइ गुरुयोजना तयार पारिएको, कैलाली, कञ्चनपुरमा रहेका काँढा, कान्द्रा र चौधर लगायत अन्य नदी नियन्त्रण तथा व्यवस्थापन गुरुयोजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ।
