Skin_Hospital_Dhn

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको जीवनी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा (एमाले)का प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल मुख्यमन्त्रीमा नियुक्त हुनभएको हो ।

विद्यार्थी छँदादेखि राजनीतिक यात्रा थाल्नुभएका रावल राजनीतिककर्मीसँगै लेखक, साहित्यकार र इतिहासका अध्येयताका रुपमा समेत परिचित हुनुहुुन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा बसोबास गर्दै आउनुभएका रावलको जन्म बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा बुबा दानसिंह र आमा कलादेवीको सन्तानका रूपमा २०२१ जेठ १६ गते भएको हो । मुख्यमन्त्री रावलले आधारभूत तहकोे शिक्षा भारत मेघालयको सिलङ, मध्यप्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढबाट हासिल गर्नुभएको हो । बुवा दानबहादुर भारतीय सेनामा जागिरे हुनुहुन्थ्यो ।

बैतडीको शाहीलेकस्थित वीरेन्द्र माध्यमिक विद्यालयबाट कक्षा १० उत्तिर्ण गर्नुभएका मुख्यमन्त्री रावलले प्रमाणपत्र तहको शिक्षा भारतको पिलिभितबाट तथा स्नातक तहको शिक्षा कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट गर्नुभएको हो । उहाँ नेपाली, अंग्रेजी, हिन्दी, डोटेली, कुमाउँनी, थारुलगायत भाषामा पोख्त हुनुहुन्छ । विसं २०३६ मा जनमत संग्रहका लागि भएको आन्दोलनबाट रावलको राजनीतिक यात्राको थालनी भएको हो ।

मुख्यमन्त्री रावलले बैतडीमा आफूले पढेको विद्यालयमा अध्यापन गर्नुभएको थियो । विसं २०४२ मा उहाँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आवद्ध भइ आन्दोलनको नेतृत्व गर्ने त्रmममा पक्राउ पर्नुभएको थियो । विसं २०४५ मा माक्र्सवादी अध्ययन दलको सदस्यका रुपमा समेत उहाँले काम गर्नुभएको थियो । विसं २०४६ को जनआन्दोलनमा रावल प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा (माले) को प्रथम जिल्ला संगठन कमिटीमा आवद्ध भएर काम गर्नुका साथै २०४७ सालमा अनेरास्ववियुको तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४८ मा मुख्यमन्त्री रावल अनेरास्ववियु पाँचौँ राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज हुनुभएको थियो । विसं २०५१ मा नेकपा (एमाले) को जिल्ला संगठन विभाग प्रमुख, २०५४ सालदेखि २०५९ सम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति, २०५४ सालमा नेकपा (एमाले) को जिल्ला उपसचिव तथा २०५७ सालदेखि २०६२ सालसम्म एमाले कञ्चनपुरको सचिव (दुई कार्यकाल) का रुपमा काम गरेको अनुभव मुख्यमन्त्री रावलसित छ ।

विसं २०६२÷२०६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका रावललाई राजकाज मुद्दाअन्तर्गत पक्राउ गरिएको थियो । उहाँ २०६२ मा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ देखि २०७७ सम्म एमाले केन्द्रीय कमिटी सदस्य तथा २०७८ सालमा एमाले केन्द्रीय र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इञ्चार्ज भएर मुख्यमन्त्री रावलले काम गर्नुभएको थियो । उहाँ हाल एमाले पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम सहइञ्चार्जका रुपमा रहनुभएको छ ।

मुख्यमन्त्री रावल २०७९ सालमा एमालेको समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचितहुनु भएको हो । रावल एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हँुदै मुख्यमन्त्रीमा चयन हुनुभएको हो । उहाँ राजनीतिसँगै लेखन क्षेत्रमा समेत दख्खल राख्नुहुन्छ । उहाँले तत्कालीन डोटी राज्यको मध्यकालीन इतिहास लेख्नुभएको छ । रावलका कविता संग्रह पनि प्रकाशित छन् । यसबाहेक मुख्यमन्त्री रावलका विभिन्न विषयका कार्यपत्र, सोधपत्र र लेखरचना पनि प्रकाशित छन् । उहाँले चुरे संरक्षण आवाज बुलेटीनको सम्पादकका रुपमा समेत काम गर्नुभएको छ ।

मुख्यमन्त्री रावल सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य, महाकाली अञ्चल अस्पताल सञ्चालक समितिको अध्यक्ष, सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समितिको सदस्यका रुपमा समेत काम गरिसक्नुभएको छ । उहाँ महाकाली साहित्य समाजको वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको छ ।

 

सम्बन्धित
Loading...