Skin_Hospital_Dhn

डडेल्धुराको आलितालको बृहत् सरसफाइ सुरु

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–३ मा अवस्थित ताल आलितालको बृहत् सरसफाइ सुरु गरिएको छ। आलिताल गाउँपालिका र रणबम गण दह ब्यारेक डडेल्धुराको संयुक्त आयोजनामा शनिबारदेखि त्रिदिवसीय आलिताल बृहत् सरसफाइ कार्यक्रम सुरु भएको हो।

‘हाम्रो आलिताल हाम्रो सान, पर्यटकीय विकासका लागि सामूहिक अभियान’ भन्ने मूल नारासहित पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा दिगो व्यवस्थापनको मुख्य उद्देश्यले तीनदिने ताल सरसफाइ सुरु गरिएको रणबम गण दह ब्यारेकका प्रमुख सेनानी प्रविन थापाले बताए।

‘नेपाली सेनाको तलतलैया सरसफाइ योजनाअन्तर्गत गाउँपालिकासँग समन्वय गरेर हाम्रो र पालिकाको संयुक्त आयोजनामा बृहत् सरसफाइ कार्यक्रम सुरु गरिएको हो। स्थानीय सरकार, स्थानीयबासी, प्रहरी प्रशासन सरसफाइ गरिरहेका छौँ,’ उनले भने, ‘यहाँका स्थानीयहरूलाई तालप्रति अपनत्व बोध होस् भन्ने मुख्य उद्देश्यले हामीले सरसरफाइ कार्यक्रम राखेका छौँ।’

उनले शनिबार नेपाली सेना , प्रहरी र स्थानीयले सरसफाइ गरेको र आइतबार विद्यार्थी तथा सोमबार स्थानीयबासीले तालको सफाइ गर्ने बताए। विद्यार्थीहरूलाई पर्यटकीय क्षेत्र तथा अन्य कुरालाई सफा राख्नुपर्ने भन्ने सन्देश दिन उनीहरूलाई सरसफाइ कार्यक्रममा सहभागिता गराउने प्रमुख सेनानी थापाले बताए। ताल वरपर रहेका झाँडीलाई सफाइ गरिँदैछ।

कार्यक्रमको उद्घाटन समाहरोमा बोल्ने वक्ताहरूले तालको अस्थित्व संकटमा पर्ने कि हो भन्ने चिन्ता व्यक्त गरे। डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले ताल साँधुरिँदै गएकोले यसको अस्थित्व संकटमा पर्न दिन नहुने बताए।

‘७/८ वर्षअघि र अहिलेको ताल धेरै परिवर्तन भएको छ। ताल साँधुरिँदै गएको छ,’ उनले भने, ‘बाढी पहिरो भूक्षयलगायतबाट ताललाई जोगाउनुपर्छ।’ उनले संरक्षणसँगै तालको प्रचारप्रसारमा पनि विषेश ध्यान दिनुपर्ने बताए। उनले आलिताल भ्रमण गर्न सबैलाई आग्रह गरे।

‘सुदूरपश्चिम क्षेत्रका मान्छेहरू आलिताल पहिलोपटक पुग्छन् तर नैनिताल चारपाँच पटक पुगिसकेका हुन्छन्,’ उनले भने, ‘आलिताल पनि नैनितालभन्दा कम छैन। यहाँ सबैले भ्रमण गर्नुपर्छ।’ उनले आलितालमा केबलकार सञ्चालन गर्नमा सबैले पहल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संविधानसभा सदस्यले हरिलाल थापाले पर्यटकीय स्थल आलिताल जोड्ने मोटरेबल पुल बन्नु आवश्यक रहेको बताए। ‘आलितालसम्म पुग्नका लागि रंगुन नदीमा मोटरेबल पुल हुनु निकै आवश्यक छ। प्रदेशदेखि केन्द्र सरकारलाई हामीले पटक–पटक पुलको माग गरेका छौँ,’ उनले भने, ‘तर हाम्रो माग सुनुवाई भएको छैन। आलिताललाई पर्यटकीय हब बनाउने हो भने यहाँ पुल बन्नुपर्छ।’

कार्यक्रमका प्रमुख अथिति परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले जिल्लाका सातै स्थानीयले सामूहिक रूपमा पर्यटकीय क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। उनले ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण र प्रचारप्रसार लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीले जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा अब सामूहिक रूपमा अघि बढ्नुपर्छ। आ–आफ्नो पालिका भएका पर्यटकीय स्थल मात्रै नभई अन्य पालिकामा रहेका ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण र प्रचारप्रसारमा जुट्नुपर्ने बेला आइसकेको छ,’ नगर प्रमुख जोशीले भने, ‘पर्यटन विकासमा हामी जनप्रतिनिधिहरू केहीहदसम्म चुकेका छन्। त्यसैले अब सबै एकजुट भएर अघि बढ्नुको विकल्प छैन।’ उनले नेपाल–भारतको सीमा नदी महाकालीमा पुल बनेपछि भारतीय पर्यटन ल्याउन सकिने बताए।

गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले पटक–पटक आग्रह गर्दा पनि संघीय सरकारले पर्यटकीय क्षेत्र आलितालको विकासका लागि बजेट विनियोजन दुखेसो पोखे। ‘यसवर्षको बजेट निर्माण गर्नुअघि पर्यटनमन्त्री भेटेकोको थिएँ। त्यहाँ गएर आलितालको संरक्षणका लागि बजेट छुट्याइदिन आग्रह गरेँ। मन्त्री र सचिवज्यूले हुन्छ भने टिपोट गर्नुभयो,’ उनले भने, ‘तर पछि बजेट नै आएन। पर्यटनमन्त्रीज्यूले अर्थ मन्त्रालयमा हामीले पठाएको थियौँ। उतैबाट काटियो भन्नुभयो। त्यसपछि हाम्रो बोल्ने बाटो नै बन्द भयो।’

उनले सबैसँग हातेमालो गरेर आलितालको विकास गर्न आफू प्रतिबद्धत रहेको बताए। उनले आलितालको संरक्षणका लागि प्रदेशको सुदूरपश्चिमको उद्योग पर्यटन, वन तथा वातावरणले २० लाख बजेट विनियोजन गरेको बताए। उनले भने, ‘आलिताल विकास गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्छ। त्यसपछि हामीले नैनिताल जानु पर्दैन आलिताल आए पुग्छ।’ ताल सरसफाइ कार्यक्रम पुस ९ गतेसम्म सञ्चालन हुनेछ।

आलिताल पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको ताल हो। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई अझैं व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिन्छ।

एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ।

सम्बन्धित
Loading...