
धनगढीः नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले (नेकपा) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्। आज कैलालीको धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा भएको सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन्।
‘प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाबीच सहमतिको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको सुनेका छौँ’ पत्रकार सम्मेलनमा उनले भने ‘माधव नेपाललाई पनि आश्वासन दिइएको थियो भने बन्न दिनुपर्छ शेरबहादुर देउवा पनि बन्नुपर्छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब एक वर्षको समयसीमा मात्रै रहेको बताए। ‘हामीलाई आधिकारिक जानकारी त दिइएको छैन तर, सुन्नमा आएअनुसार प्रचण्डलाई दुई वर्षको समय छ’ उनले भने ‘अब एक वर्ष मात्रै उहाँसँग छ। अझै तदारुकताका साथ अगाडि बढ्नुपर्छ।’

वर्तमान सरकारका ठूला काण्ड सुन्न परेको उल्लेख गर्दै उनले त्यसलाई उपलब्धिका रूपमा चित्रण गरे। उनले अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका केपी ओलीबाट ठूलो काण्डहरू भएको आरोप लगाए।
अहिले अर्थतन्त्रमा केही सुधार भए पनि अरू सूचकहरूमा परिवर्तन आउन नसकेको उनको भनाइ थियो। पुँजीगत खर्च अझै बढ्न नसकेको उनले बताए।अर्थतन्त्र कमजोर हुँदा रुसको सेनामा पनि गैरकानुनी रूपमा जानुपर्ने बाध्यता आएको उनको तर्क थियो।
सरकारले एक वर्षको यो ठाउँमा उभिँदा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए। उनले अहिले मन्त्री हेरफेर गर्ने विषय उपयुक्त नभएको बताए। नेपाली कांग्रेसमा पनि अहिले सुस्तता आएको उनको भनाइ थियो। पार्टीको दोस्रो वरीयतामा शेखर कोइलालाई स्थान दिन उपयुक्त रहको पाण्डेले बताए।
पाण्डे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्वमा भूकम्पको क्षति र त्यसले शिक्षा र स्वास्थ्य संस्थामा पुगेको क्षतिको विवरण हेर्ने र अध्ययन गर्न सुदूरपश्चिम आएका थिए।
