
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि विवादको चक्रव्यूहमा परेको छ। नगर प्रमुख गोपाल हमालले एकलौटी गरेर उक्त कार्यविधि राजपत्रमा प्रकाशित गरेको भन्दै बहुमत वडाध्यक्षहरूले आइतबार उपमहानगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन नै गरेका छन्।
पत्रकार सम्मेलनमा उनीहरूले मेयर हमालमाथि आरोपैआरोप लगाएका छन्। प्रक्रिया विपरीत कार्यविधि आएको भन्दै विरोध जनाएका छन्। उनीहरूले कार्यविधि चोर बाटोबाट ल्याइएको जिकिर गरेका छन्।

उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्का, उपमहानगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र शाही र उपमहानगरपालिका–७ का वडाध्यक्ष मोती रानाले मेयर हमालले एकलौटी गरेको आरोप लगाएका छन्।
उनीहरूले बुधबार उपमहानगरपालिकामा कार्यविधि खारेजीका लागि प्रस्ताव दर्ता गराएका थिए। उत्पन्न विवाद सामाधानका लागि मेयर हमालले आफूहरूलाई एकपटक पनि आग्रह नगरेको वडाध्यक्ष खड्काले बताए।
‘हामीले कार्यविधिबारे अध्ययन गरेर अर्को कार्यपालिका बैठकमा पास गरौँला भनेका छौँ तर मेयरसा’पले मान्नु भएन,’ उनले भने, ‘वडाध्यक्षहरू हस्ताक्षर गरेको भन्ने कुरा बाहिर आएको छ त्यो होइन। मेयरसा’पले बैठक क्लोजिङको हस्ताक्षर नभई निर्णय गरेर कार्यविधि राजपत्रमा प्रकाशित गरिदिनुभयो।’ मेयर हमालले विधि र प्रक्रिया मिचेर कार्यविधि ल्याएको उनको आरोप छ।
वडाध्यक्ष शाहीले कार्यपालिका बैठकको पौने घन्टाको लाइभ काटिएको बताए। ‘कार्यपालिकाको बैठकको लाइभ काटिएको छ। लाइभ किन काटियो? बत्ति गयो कि? अरु दिन कार्यपालिकाको बैठक मेयरसा’प नउठ्ने बेलासम्म काटिँदैन थियो। त्यो दिन चाहिँ बीचै काटियो,’ उनले भने, ‘हामीले फेसकुबमा केही लेख्नु नै हुँदैन। सबैले गाली मात्रै गर्छन्। उल्टो मात्रै सोच्छन्।’ वडाध्यक्ष शाहीले आफूहरूले कुनै पनि गल्ती नगरेको र गल्ती गरेको भए जुत्ताको माला लगाउन तयार रहेको बताए।

एकैपटक जग्गा प्लटिङसम्बन्धी कार्यविधि पास गर्नुपर्यो भनेर ल्याउँदैमा त्यो पास नहुने वडाध्यक्ष रानाले बताए। कार्यविधि नियम र कानूनसंगत रूपमा आउनुपर्ने उनको भनाइ छ। ‘सुरु देखिकै प्रक्रियामा हाम्रो विमती हो। विद्येयक मस्यौदा समितिले तयार गरेर कार्यविधि कार्यपालिकामा ल्याउनुपर्ने हो। तर यो कुन पसलबाट आयो?,’ उनले पत्रकार सम्मेलनमा प्रश्न गरे ‘बाहिरिबाट कार्यविधि बनाएर ल्याउने अनि कार्यपालिका बैठकमा धम्काउँदै एक घन्टामा पास गर भन्न मिल्छ?’
कार्यविधिसम्बन्धीको विवाद सर्वोच्चमा समेत पुगेको छ। कार्यविधिविरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। उपमहानगरपालिका तथा नगर प्रमुखलाई विपक्षी बनाएर कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार मुद्दा दायर गरेका हुन्।
साथै प्रतिवादी नगर प्रमुखलाई पुस ११ गतेका दिन पेशीसमेत पत्रमा तोकिएको छ। जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्ने कार्यविधिमा उल्लेख छ। मेयर हमालले नयाँ र व्यावसायिक प्रयोजनका सडकमा कित्ताकाट गर्दा मात्रै १० मिटरको मापदण्ड लागू हुने स्पष्ट पारेका छन्।
जग्गा प्लटिङ सम्बन्धी कार्यविधि एजेण्डाको रूपमा आएको र कार्यपालिकामा पर्याप्त छलफल भएको मेयर हमालको दाबी छ। ‘कार्यविधिलाई आजै टुङ्गाउनुपर्छ भनेर मैले जति सकिन्छ आजै बसौँ र ज–जसलाई चित्त बुझ्दैन, नोट अफ डिसेन्ट लेख्नुस् भनेको थिएँ’, नगर प्रमुख हमालले भने, ‘त्यो बेला नोट अफ डिसेन्ट लेखिएन। तर, पछि जग्गावालाको बैठकपछि कार्यपालिका सदस्यबाट खारेजीको निर्णय भयो।’
नगरबासीको हितका लागि ल्याइएको कार्यविधिलाई लिएर कार्यपालिका सदस्यबाट विरोध हुनु दुःखद भएको उनी बताउँछन्। उनले जनतालाई असर गर्ने काम नगरेको र आगामी दिनमा पनि नगर्ने बताए।
यी पनि पढ्नुहोस्
मेयर हमालको प्रश्न : होटलमा बसेर निर्णय उल्टाउँदै गए धनगढीको विकास हुन्छ?
धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड, यस्तो छ कार्यविधि [पूर्णपाठ]
