
धनगढी । आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा कञ्चनपुरका आमा–छोरा अस्ताएका छन् ।
दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका व्यवसायी सञ्जीवचन्द्र भट्टकी श्रीमती र छोराको ज्यान गएको हो।

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन्। उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए।

आफन्तहरुसंग भेटघाटका साथै पोखरा घुम्न उनीहरु गइरहेका थिए। व्यवसायी भट्ट पोखरा घुम्नका लागि पुस २८ मा पोखरा पुगेका थिए।
पोखरामा रहेका आफन्तले घुमघामका साथै माघे संक्रान्ति संगै मनाउन उनीहरुलाई पनि पोखरा बोलाएका थिए।
माघी मनाएर पोखराबाट सँगै काठमाडौं फर्किने उनीहरुको योजना थियो । भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए। उनका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए।
भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्द्रनगर बजारमा पशुपति इम्पोरियम छ।
