Skin_Hospital_Dhn

प्रधानमन्त्रीले माघी उपहार नदिँदा सुदूरपश्चिममा नागरिक उन्मुक्ति तटस्थ बस्यो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयनको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी गएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघी उपहार नदिएकाले नागरिक उन्मुक्ति पार्टी निर्वाचनमा नगएको हो ।

 

 

नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले सम्झौता विपरीत काम भएकाले आफूहरू सभामुख चयनको निर्वाचनमा नगएको बताएका छन् ।

 

उनले भने ‘केन्द्रीय स्तरमा पनि समस्या देखिएको छ , प्रधानमन्त्री ज्युले थारु समुदायको महान् पर्वको उपलक्ष्यमा तपाईंहरुलाई मकर सङ्क्रान्तिको पूर्व सन्ध्यामा माघी उपहार दिन्छु भन्नुभएको थियो , उहाँले माननीय रेसम चौधरीको रिहाइ गरेर उपहार दिन्छु भन्ने कुरामा भएको सहमति समय सिमाना पुरा नगरेको देखेपछि हामी तटस्थ बसेका हौ’ ।

 

‘मुख्यमन्त्रीको शपथ ग्रहणको कार्यक्रममा सुचीमै नपरेका लाई बिना विभागीय भनेर माओवादी र एमालेका तर्फ बाट शपथ खुवाइयो । यदि हामी साझेदार दल हौ भने ४ वटा दल सुदूरपश्चिममा छौ र चार वटै दलको पनि ११ वटा बिना विभागीय मन्त्री शपथ ग्रहण गराइनु पर्ने तर गरिएन यस कारण पनि हामी तटस्थ बसेका थियौ’ ।

 

 

अहिले प्रदेश र केन्द्रीय स्तरमा संवाद र छलफल चलिरहेको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले बताएका छन् । बैठक भोलि माघ २ गते बस्दै छ ।
Loading...