
बैतडीः बिजुली नहुँदा अँध्यारोमा बस्न बाध्य ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेपछि स्थानीय खुसी भएका छन्। सुर्नया गाउँपालिका–८, ढोले गाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि अँध्यारो बस्ती उज्यालो भएको हो।
ढोले गाउँमा बिजुली बलेसँगै यस जिल्लाको करिब २२ हजार घरधुरी विद्युत्को पहुँचमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय लाइन विस्तार गरी ढोले गाउँको दल्ले बगरमा ट्रान्सफर्मर जडान गरेको छ।

विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले ढोले गाउँमा बिजुली बलेपछि तिहार आए जस्तो भएको बताए। स्थानीय ८० वर्षीय गम्भीरसिंह बोहोराले पनि गाउँमा पहिलो पटक बिजुली बलेको देख्न पाएको बताए।

उनले घरमा बिजुली बलेको हेर्ने धोको पूरा भएको बताए। गाउँमा बिजुली बलेपछि विद्यार्थीलाई अध्ययन गर्न सजिलो भएको भूमिराज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत दीपक बोहोराले बताए।
टुकी बालेर पढ्नुपर्ने बाध्यता हटेकोमा निकै खुसी लागेको उनको भनाइ छ। यहाँको २० हजार घरधुरीमा विद्युत् पुग्न नसकेकाले ग्रामीण क्षेत्रमा विद्युतीकरण कार्य तीव्र पारिएको वितरण केन्द्र प्रमुख पौडेलले बताए।
यो वर्ष थप पाँच हजार घरधुरीमा विद्युत् विस्तार गर्ने तयारी भइरहेको उनले बताए। डेढ वर्षभित्र यस जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने सरकारको कार्यक्रम अनुसार विन्द्रावनमा ३३ केभी प्रसारण लाइनको सबस्टेसन निर्माणको काम चलिरहेको छ।
नेपाल र सरकारको घोषित कार्यक्रम अनुसार बैतडीलाई पूर्ण विद्युतीकरण गर्न मेलौलीमा सबस्टेसन निर्माणको काम सकिएको छ। दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र विन्द्रावनमा नयाँ सबस्टेसन निर्माणको काम चलिरहेको छ।
