Skin_Hospital_Dhn

अर्थमन्त्री महत भन्छन्– अर्थतन्त्र सुधारोन्मुख छ

 चितवन: अर्थमन्त्री डा‍.प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन्। आज चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताएका हुन्।

‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ उनले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ।’

लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको दाबी उनले गरे। महतले भने, ‘लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा पहिचान गरेर लगानी गरौँ भन्ने सन्देशका साथ अघि बढे भविष्य सुन्दर छ।’

उनले निर्धक्क भएर लगानी र खर्च गर्न आग्रह गर्दै प्रतिफल प्राप्त हुने उद्योगमा खर्च गर्ने सरकारको नीति रहेको बताए। सेयरबजार विस्तारै माथि गइरहेको भन्दै अर्थमन्त्री महतले भने, ‘ंघरजग्गा कारोबारमा सुधार भएको छ, उल्लेख्य मात्रामा पर्यटक भित्रिएका छन्, पूर्वाधारमा लगानी केन्द्रिकृत गर्ने हो भने प्रशस्त मुनाफा आर्जन हुन्छ।’

अथाह सम्भावनाको पर्यटन क्षेत्रमा लगानी गर्न उनले आह्वान गरे। विदेशी मुद्रा सञ्चिति सन्तुलित रहेको भन्दै उनले विप्रेषण पनि सकारात्मक रहेकाले अर्थतन्त्र सुधारोन्मुख रहेको बताए। राष्ट्र बैंकको पछिल्लो निर्णयले अप्ठ्यारो परेका व्यवसायीलाई सम्बोधन गरेको उनले बताए।

‘नीतिगत व्याजदर घटेको छ, त्यसको प्रभाव बैंकहरुमा देखिन थालेको छ,’ उनले भने, ‘असल नियतका साथ काम गर्नेलाई सरकारले सहयोग गर्दै आएको छ। बैंकको ऋण तिर्दैतिर्दिन भन्न कसैले पनि पाउँदैन, कुत्सित स्वार्थले गरिएका प्रचारको प्रतिवाद गर्नुपर्छ।’

सम्बन्धित
Loading...