Skin_Hospital_Dhn

बैतडीका घरघरमै पुगेर नसर्ने रोगका बिरामी खोजिँदै

बैतडीः बैतडीमा घरघरमै पुगेर नसर्ने रोगका बिरामी खोजिँदै छ। जिल्लाको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्रका घरघरमै पुगेर नसर्ने रोगका बिरामीहरुको खोजी गर्न थालेको हो।

नसर्ने रोगका बिरामीहरुको जोखिम बढ्दै गएपछि जनचेतना फैलाउन र बिरामीहरूलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न बिरामी खोज्ने अभियान शुरु गरिएको स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्र महराले जानकारी दिए।

पालिकाभित्रको उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा रहेको स्वास्थ्यचौकीले सेवा क्षेत्रभित्रका जेष्ठ नागरिक लगायतलाई लक्षित गरेर यो अभियान सञ्चालन गरेको जनाएको छ । सुगर, प्रेसर, दमलगायतका नसर्ने रोगहरूको जोखिम बढीरहेका बेला यस्ता रोगहरुबाट बच्ने उपायका साथै रोग लागिसकेकाहरूलाई उपचारमा ल्याउनका लागि अभियान सञ्चालन गरिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए।

दैनिक खानपीन, जीवनशैली लगायतका कारणले नसर्ने रोगहरूको जोखिम बढ्दै गएपछि पालिकाभरी नै नसर्ने रोगका बिरामीहरूको खोजी अभियान शुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए।

प्रत्येक स्वास्थ्यचौकीमा सुगर, प्रेसर,दमलगायतका बिरामीहरुको स्क्रिनिङका लागि आवश्यक सामग्रीहरु पठाएको र स्वास्थ्यचौकीमार्फत घरघरमै पुगेर बिरामी खोज अभियान सञ्चालन भएको उनले बताए।

गाउँपालिकाका ८ ओटै वडामा रहेका स्वास्थ्य संस्थाहरूबाट घरघरमा स्वास्थ्यकर्मी खटाएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए। नसर्ने रोगहरू जनस्वास्थ्यको समस्याको रूपमा देखिन थालेकाले पालिकाले यो अभियान सञ्चालन गरेको उनको भनाइ छ।

सम्बन्धित
Loading...