
धनगढी: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीमा दक्षता र लगनशीलता आवश्यक रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कार्यालय कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’मा उनले सो कुरा बताएका हुन्।
उनले अपराध अनुसन्धान गर्नका लागि दक्ष र लगनशीलता प्रहरी कर्मचारी आवश्यक रहेको बताए। उनले भने, ‘प्रभावकारी र वस्तुनिष्ट अपराध अनुसन्धान तथा औजदारी मुद्दाको कडी भएको हुँदा यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थलको सुरक्षा, प्रमाण संकलन, परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न सबै प्रहरी कर्मचारीमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक पर्दछ।’


उनले सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरूले गरेको कामको खुलेर प्रशंसा गरे। उनले सुदूरपश्चिममा चालु आर्थिक वर्षको तथ्यांक हेर्दा लागुऔषध र समाजिक अपराधसँग सम्बन्धित कसूरहरू बढिरहेको बताए।
‘यहाँ गतवर्षको सोही समयको तथ्यांक हेर्दा लागुऔषध सम्बन्धी कसूर ६२ प्रतिशत र आत्महत्या करिब १७ प्रतिशतले वृद्धि भएको देखिन्छ,’ आईजीपी कुँवरले भने, ‘सुदूरपश्चिममा सवारी दुर्घटना पनि बढेको देखिएको छ। अघिल्लो वर्षको तुलनामा करिब २४ प्रतिशतले वृद्धि भएको पाइन्छ।’
उनले छिमेकी राष्ट्रसँगको खुला सीमानाका कारण कैलाली र कञ्चनपुरमा हरेक किसिमका अपराधिक घटनाहरू बढेको बताए। उनले भारतमा अपराध गरेर नेपाल अपराधीहरू लुक्न आउने भएकाले प्रहरी कर्मचारीलाई त्यसतर्फ चनाखो हुन निर्देशन दिए।
भिडिओ
