
धनगढी: नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसइई आइडल-३ मा बिटिभि पनि जोडिएको छ । आज भएको सम्झौता अनुसार आइडलले टेलिभिजन पार्टनरका रूपमा बिटिभिको साथ पाएको हो ।

एसइई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड इभेन्ट प्रा.ली.का अध्यक्ष प्रकाश छेडाल र बिटिभिका प्रतिनिधि रमेश ऐडीले सहकार्य सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब छिट्टै बिटिभिबाट हरेक दिन आइडलका छनोट चरण (अडिसन) का हरेक प्रतिस्पर्धीका नृत्य र गायनका भिडियोहरू प्रसारण हुनेछन् । यसै गरी बिटिभिले एसइई आइडलको धनगढीमा हुने केही अडिसन, सेमिफाइनल र फाइनलको प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा एसइई आइडलका अडिसनहरू आयोजना हुनेछन् । जसमा यस वर्ष एसइई दिने विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् । यस वर्षको असोज देखि फाल्गुण सम्म सुपका ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाइनलमा प्रवेश पाउनेछन् । फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशः ५०-५० हजार रुपैयाँ र २५-२५ हजार रुपैयाँसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरूको खोजी भइरहेकोले यस प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थी तथा विद्यालयहरूलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरू भव्य रूपले आयोजना गरी सकेको छ भने यस संस्करणका अडिसनहरू पनि आयोजना भइरहेका छन् ।
