
धनगढीः प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसरा सुधार केन्द्र फूलबारीको बुधवार आयोजित एक कार्यक्रमबिच उद्घाटन गरेका छन् । प्रहरी महानिरीक्षक कुँवरले धनगढी उपमहानगरपालिका-१४ ‘डी’ गाउँ फूलबारीस्थित आसरा सुधार केन्द्र फूलबारीको आज (बुधवार) आयोजित एक कार्यक्रमबिच उद्घाटन गरेका हुन् ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको निरीक्षण गर्नुका साथै केन्द्रको परिसरमा वृक्षारोपण समेत गरेका थिए ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको स्थापनाका लागि सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्याउने बताए । लागूऔषध दुर्व्यसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तह तप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

साथै, लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरुरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा प्रहरी महानिरीक्षक कुँवरले गरेका थिए ।
समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिष्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र नाष्ट कलेजका एमडी शिवहरि शर्मा मुडभरीले हुभकामनासहित आ९आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
