
धनगढी ।
आज तेस्रो पटक सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि चुनाव हुँदैछ । यसअघि पुस २८ र ३० मा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन। गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।

२८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक—एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसिदिएको थियो।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिइसकेकी छन्। सोमबार धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरूसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएकी हुन्।
