
एक रुख रोप्नेलाई पाँच किलो चामल दिँदै हिमाली गाउँपालिका
बाजुराः जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ। हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो।
‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताए।

आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियानअन्तर्गत पालिकाका सबै वडामा फलफूल (कागती, स्याउ, ओखर, आँप, अनार), डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन्।

स्थानीय कृषकले आफ्नै बारी तथा सार्वजनिक जग्गामा सो बिरुवा रोप्दै आएका छन्। यसले गर्दा कृषकलाई पनि फाइदा र पालिकाको अभियान पनि सार्थक भएको शाखा प्रमुख शाहीले बताए। ती बोटबिरुवा भने पालिकाको कृषि विकास शाखाले उपलब्ध गराउँदै आएको छ।
आव २०७७/७८ मा रुख रोपेर जोगाएबापत कृषकलाई दुई हजार एक सय क्विन्टल, २०७८/७९ मा एक हजार आठ सय क्विन्टल र २०७९/८० मा एक हजार सात सय क्विन्टल गरी पाँच हजार छ सय क्विन्टल चामल वितरण गरिसकिएको छ।
तीन हजार चार सय बिरुवामध्ये आधा फलफूलका बिरुवा फल्न थालेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए। वडा नम्बर ५, बिच्छ्याँगाउँका कृषक सुरतबहादुर बुढाले अभियान सञ्चालन भएदेखि ६० वटा बिरुवा जोगाएर १२ बोरा चामल लिएको बताए। सोही वडाका भैरवबहादुर कार्कीले ५६ बिरुवा जोगाएर ११ बोरा चामल प्राप्त गरेका छन्।
यो कार्यक्रमबाट कृषक निकै उत्साहित भएका स्थानीय उमेश रोकायाले बताए। गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बाजुराको सबैभन्दा दुर्गम तथा स्थानीय उत्पादनमा पछाडि परेको हिमाली गाउँपालिकाका बासिन्दालाई फलफूलमा आत्मनिर्भर बनाउन यस्तो अभियान चलाइएको बताए।
