
बाजुराका महिला जंगलमा खेर गएको मेलको खुदो बनाउँदै
बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन्। असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जंगलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन्।
पाकेको मेलबाट बनेको खुदोले गाई, भैँसी, भेडा, बाख्रालगायतका जनावरलाई आउँमासी झाडापखाला तथा दिसा पिसाबमा रगत आउने रोगलाई निको पार्ने भएकोले पछिल्लो समय यहाँका महिलाहरूले मेलको खुदो पार्ने गरेको बुढीनन्दा नगरपालिका–८ की खिन्तुरी रोकायाले बताइन्। उनका अनुसार मानव तथा जीव जनावरको स्वास्थ्यका लागि मेलको खुदो निकै उपयोगी हुने भएपनि पछिल्लो समय यसलाई बजारमा बिक्री गर्न भने समस्या भएको छ।


पहिलेको पुस्ताले मेलको खुदो बनाएर गाउँ गाउँमा लगेर बिक्री गर्ने गर्थ्यो। अहिलेको पुस्तालाई यसको बारेमा खासै जानकारी नहुँदा बिक्री गर्न समस्या भएको रोकायाले बताइन्। बुढा पाखाले तमाखुमा हालेर खाने गरेकोले गाउँ घरमा भने केही मात्रामा मात्र बिक्री हुने गरेको भए पनि बाहिर भने कतै माग नभएको रोकायाको भनाइ छ।
बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, गौमुल बडिमालिका, त्रिवेणी, बुढीगङ्गा र खप्तडछेडेदहलगायतका गाउँपालिकाका अधिकांश ठाउँमा मेल प्रशस्त पाइन्छ। तर त्यो मेल त्यत्तिकै खेर जाने गरेको छ। यसलाई स्थानीय सरकारले सदुपयोग हुने गरी कार्यक्रम ल्याउने हो भने यहाँका बेरोजगार युवालाई घरमै काम पाइने सम्भावना छ।
असोजदेखि मङ्सिरसम्म पाक्ने यो मेल अहिले पनि गाउँमा त्यत्तिकै खेर गइरहेको छ। खाँदा गुलियो र स्वादिलो हुने मेल मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । तर यसको प्रयोग भने कमै हुने गरेको छ। गाउँमा बनेको मेलको खुदोलाई अहिलेको स्थानीय सरकारले देशका विभिन्न सहरमा लिने गरी आर्थिक लगानी गर्ने हो खुदोबाट नै यहाँका स्थानीयको पेट पाल्ने सक्ने रोकायले बताइन्।
