धनगढी ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले उपसभामुख नलिने भएको छ ।
उन्मुक्ति पार्टीलाई सत्तारूढ गठबन्धनले उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै पदको लाभ नलिने जनाएको छ ।
उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ । सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोईलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो ।
उनी एमाले कैलाली जिल्ला सचिवालय सदस्य हुन् । प्रदेशसभाका एक सांसदकाअनुसार चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।
प्रदेशसभा सचिवालयकाअनुसार नवनियुक्त सभामुख भीमबहादुर भण्डारीले मंगलबार उपसभामुखको निर्वाचन गर्ने तयारी अघि बढाएका छन् ।
उपसभामुख नलिएको उन्मुक्ति पार्टीले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।