
काठमाडौँः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
