Skin_Hospital_Dhn

सुदूरपश्चिमका कानुनमन्त्री भट्ट गृहजिल्लाका सडक अनुगमनमा व्यस्त

बैतडी: सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले बैतडीको पाटन–पञ्चेश्वर सडकको अनुगमन गरेका छन्। शुक्रबार गृहजिल्ला बैतडी पुगेका मन्त्री भट्टसहितको टोलीले आइतबार पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्टदेखि मेलौलीसम्म अनुगमन गरेको हो।

उक्त सडकको जिरो प्वाइन्टमा अझै कालोपत्रे हुन सकेको छैन। जिरो प्वाइन्टदेखि साढे तीनकिलोमिटर सडक भर्खरमात्रै पूर्वाधार विकास कार्यालय मातहत आएको छ। उक्त सडक स्तरोन्नतीका लागि स्टमेट तयार भएको भएपनि बजेटको भने अभाव रहेको छ।

सडक धुलाम्य हुँदा बस्तीमा असर परेको भन्दै जिरो प्वान्इटमा स्थानीयबासीहरुले सडक अवरुद्ध गरेका छन्। उक्त सडक कालोपत्रेका लागि बजेटको व्यवस्थापन गर्ने मन्त्री भट्टले आश्वासन दिए। पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री भट्टले कार्यालयमार्फत सञ्चालनमा रहेका योजनाहरु तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरे।

यस्तै मन्त्री भट्टले आजै उग्रतारा–मेलौली सडकको पनि अनुगमन गरेका छन्। डडेल्धुराको उग्रतारादेखि बैतडीको मेलौलीसम्म १२ किलोमिटर लम्बाइ रहेको उक्त सडकको ७ किलोमिटर कालोपत्रे गरिएको छ। उक्त सडकमा साढे चार किलोमिटर अझै ट्रयाक खोल्न बाँकी रहेको पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर नरेश भुलले जानकारी दिए।

उक्त सडकमा पर्ने सामुदायिक वनभित्रको रुख कटानीको आदेश नभएकाले ट्रयाक खोल्न बाँकी रहेको बताइएको छ। मन्त्री भट्टले सडक निर्माणमा देखिएको अवरोध हटाउन आफूले पहल गर्ने बताए।

यस्तै मन्त्री भट्टले भोलि (सोमबार) पाटन–पञ्चेश्वर सडकअन्तर्गत मेलौली–पञ्चेश्वर खण्डको अनुगमन गर्ने कार्यक्रम छ। मेलौलीदेखि पञ्चेश्वर सम्मको २५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ। २०७७ सालदेखि कन्काइ–कुमार–केएस जेभीले उक्त सडकमा कालोपत्रेको काम गरिरहेको छ।

४१ करोडमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न गरिसकेको इन्जिनियर भुलले बताए। २०८१ असार मसान्तसम्म ठेक्का सम्झौता म्याद रहेकाले निर्माण कम्पनीलाई समयमै काम सक्ने चुनौती भने रहेको छ। अझै ३५ प्रतिशत काम बाँकी रहेकाले तोकिएकै समयमा सडक कालोपत्रेको काम सकिनेमा आशंका छ। पूर्वाधार विकास कार्यालयका इन्जिनियर भुलले भने तोकिएकै समयमा काम सम्पन्न गर्ने गरेर आफूहरुले पहल गरिरहेको बताए।

सम्बन्धित
Loading...