
कैलालीः कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ। बाढी पहिरोमा घरखेत गुमाएर सार्वजनिक जंगलमा पालमुनी बसिरहेका स्थानीयलाई पालिकाले उज्यालोका लागि सोलार वितरण गरेको हो।

चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमअनुसार पालिकाले आइतबार बालुवागडा–४ का १८ परिवारलाई सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले जानकारी दिए। पालिकाभित्रका ३० बाढी पहिरो पीडित परिवारलाई सोलार वितरण गरिने योजना अनुसार चार परिवारलाई केही समय अगाडि नै सोलार वितरण गरिएको उनले बताए। खानीडाँडाको राजमार्ग छेउमा रहेका आठ परिवारलाई सोलार वितरण गर्न बाँकी रहेको भन्दै अध्यक्ष बोगटीले बाँकी रहेकाहरूलाई पनि एकदई दिनभित्रै वितरण गरिने जानकारी दिए।

वितरण गर्न थालिएका सोलार पचास वाटको र ब्याट्रि ३५ वाटको रहेको अध्यक्ष बोगटीले बताए। उनले बाढी पीडितहरू चारपाँच वर्षदेखि अँध्यारोमै बस्न बाध्य भएकाले उनीहरूको सहजताका लागि सोलार वितरण गरिएको बताए।
बाढीपहिरो पीडितहरूलाई आफ्नो थातथलो छोड्नुपर्दाको पीडा एकातिर छ भने अर्कातिर हालसम्म पनि कुनै निकायबाट पुनःस्थापनाको सुनुवाइ हुन नसक्दाको पीडा छ। विस्थापित भएको चारपाँच वर्ष पुग्नै लाग्दा पनि त्रिपालमुनि कष्टकर जीवन बाँच्न पहिरो पीडितहरू बाध्य छन्।
