Skin_Hospital_Dhn

कर्णाली प्रदेश उपसभामुखको निर्वाचन बुधबार हुने

सुर्खेत ।
कर्णाली प्रदेश सभाको उपसभामुखका लागि बुधबार (माघ ४ गते) निर्वाचन हुने भएको छ। मंगलबार बसेको कर्णाली प्रदेशको दोस्रो कार्याकालको चौथो बैठकले निर्वाचनको मिति तोकेको हो।

सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि उप–सभामुखको निर्वाचनका लागि कार्यतालिका तोक्न प्रदेश सभा सचिवालयलाई निर्देशन दिएकी छन्।

सभामुख गुरूङले प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्वाचन सम्पन्न गर्नका लागि प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ बमोजिम उपसभामुखको निर्वाचन तोकेकी हुन्।

सभामुख गुरूङले निर्वाचनको मिति तय गरेसँगै प्रदेश सभा सचिवालयले कर्णाली प्रदेश सभाको उप–सभामुखका लागि निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ।

उक्त कार्यतालिका अनुसार बुधबार बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता, १० बजेदेखि १०ः१५ सम्म उम्मेदवारको नामावली प्रकाशन, १०ः१५ बजेदेखि १०ः४५ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध र १०ः४५ बजेदेखि ११ बजेसम्म उम्मेदवाररको प्रस्ताव फिर्ताको समय रहेको छ।

यस्तै, बिहान ११ बजेदेखि ११ः१५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसो १ बजेपछि प्रदेश सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणामा घोषणा हुने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

सत्तारुढ दलमा भागबन्डा गर्दा कर्णालीको सभामुख एमाले र उप–सभामुख माओवादी केन्द्रको भागमा परेको छ। उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ। तर, परियारले उप–सभामुख नभई मन्त्री बन्ने मनशाय राखेका छन्।

सम्बन्धित
Loading...