Skin_Hospital_Dhn

गेटामा तत्कालै विश्वविद्यालय बन्ने सम्भव छैन : स्वास्थ्यमन्त्री बस्नेत

धनगढीः स्वास्थ्य तथा जनसंख्यामन्त्री महेशबहादुर बस्नेतले गेटामा तत्कालै विश्वविद्यालय बन्ने सम्भव नभएको बताएका छन्। सोमबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विश्वविद्यालय तत्काल नै बन्न सम्भव नभएको जिकिर गरेका हुन्।

उनले तत्काल विश्वविद्यालय बनाउनेभन्दा पनि सय शय्याको अस्पताललाई जोड दिनुपर्ने बताए। अहिले विश्वविद्यालय वा प्रतिष्ठानको लागि हतार गर्नुपर्ने बेला नभएको उनको भनाइ थियो।

‘पहिले चरणमा सय शय्याको अस्पताललाई बलियो बनाउने हो। त्यसपछि तीन सय शय्याको अस्पताल सुरु गरेपछि मात्रै विश्वविद्यालय वा प्रतिष्ठानतर्फ जानुपर्छ,’ उनले भने, ‘यहाँ हामीले एक सय ४१ दरबन्दी पठाइसकेका छौँ। त्योअनुसार अस्पताल बलियो बनाएपछि हुन्छ अहिले विश्वविद्यालयभन्दा हतार हुन्छ।’

उनले अस्पताल मजबुत भएपछि पर्याप्त चिकित्सक हुने बताए। आइतबार धनगढी पुगेका मन्त्री बस्नेतले धनगढी पुगेलगत्तै प्रस्तावित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमनसमेत गरेका थिए।

२०५४ साल पछि पहिलोपटक स्वास्थ्यका कर्मचारीहरूको दरबन्दी तयार गरेको भन्दै त्यसअनुसार पहिलो चरणमा अस्पतालको काम अगाडि बढाउनुपर्नेमा मन्त्री बस्नेतको जोड यिथो।

उनले एमबिबिएस पढाउने वातावरण सृजना गरेर विदेश जाने अरबौँ रुपैयाँ नेपालमै राख्न सकिने बताए। गेटाको अनुगमनपछि मन्त्री बस्नेत आइतबार बेलुकी डडेल्धुरा अस्पतालमा पनि पुगेका थिए। उनले सोमबार धनगढीमा डडेल्धुरा अस्पताललाई पनि तीन सय शय्यामा लैजाने प्रक्रिया सुरु भएका बताए।

सम्बन्धित
Loading...