Skin_Hospital_Dhn

कैलालीमा थारु होमस्टे गाउँ भादा महोत्सव सुरु, मन्त्री देउवाले गरे उद्घाटन

धनगढी: कैलालीको भादामा ‘थारु होमस्टे गाउँ भादा महोत्सव’ सुरु भएको छ। मंगलबार महोत्सवको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एक समारोहका बीच उद्घाटन गरे।

महोत्सवको उद्घाटन गर्दै उनले थारु होमस्टे भादाको विकासका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए। मन्त्री देउवाले भादा थारु होम स्टेको विकास गरे पर्यटक भित्र्याउन सकिने बताए। उनले व्यक्तिगत र मन्त्रालयको तर्फबाट महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

धनगढी उपमहानगरपालिका–१६ भादामा रहेको थारु होम–स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति कैलालीको आयोजनामा दिपेन्द्र चारपाते माविको खेलमैदानमा सुरु भएको महोत्सवमा १ सयभन्दा बढी स्टल राखिएका छन्।

महोत्सवमा दैनिक थारु समुदायका स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने महोत्सवका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिए। उनले थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्ने गरेको बताए।

उनका अनुसार थारु समुदायलाई मात्रै नभएर गैरथारु समुदायका मानिसहरूलाई समेत थारु संस्कृतिको बारेमा जानकारी दिने महोत्सवको मुख्य उद्देश्य हो। महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित
Loading...