
कञ्चनपुरः कञ्चनपुरमा नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि प्रहरीले निगरानी बढाएको छ । जिल्लाका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेकाले प्रहरीले निगरानी बढाएको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०–०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।


‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँ,’ उहाँले भने , ‘ती ट्रयाक्टर सञ्चालकबाट जरिवानास्वरूप तीन लाख रकम असुल उपर गरिएको छ ।’
जरिवाना लिन थालेपछि अवैधरूप नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् ।
स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।
डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रुपमा सङ्कलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनियमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक बनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।
