Skin_Hospital_Dhn

कृष्णपुरमा आयोजित निःशुल्क आँखा शिविरमा पाँच हजारले लिए सेवा

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना भएको निःशुल्क आँखा शिविरमा पाँच हजारभन्दा बढीले सेवा लिएका छन्। नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा पुस १ गतेदेखि सञ्चालन भएको शिविर मंगलबार सम्पन्न भएको छ।

पुस १ गते वडा नम्बर १ को कुमगडाबाट शुरु भएको आँखा शिविर १७ गते वडा नम्बर ९ को आधारभूत स्वास्थ्य केन्द्र राजघाटमा सम्पन्न भएको हो।निःशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन्।

नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा नम्बर १ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर सञ्चालन गरेको हो। आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई शल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ।

सिफारिस गरिएकाको धनगढी नेत्रालयले निःशुल्क शल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतनसिंह विष्टले जानकारी दिए। पुस १ गते कुमगडाबाट शुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए। जसमा २८ जनालाई चश्मा प्रदान गरिएको थियो भने २ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। त्यसैगरी वडा नम्बर १ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन्।

वडा नम्बर २ का दुई स्थानमा आँखा शिविर सञ्चालन गरिएको थियो। त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई चश्मा प्रदान गरिएको थियो भने १०५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। वडा नम्बर ३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई चश्मा प्रदान गरिएको थियो भने ३५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

वडा नम्बर ४ मा ६४९ जनाले सेवा लिएका थिए। त्यसमध्ये १७६ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ९९ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। वडा नम्बर ५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ७७ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

वडा नम्बर ६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६२ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो। वडा नम्बर ७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

वडा नम्बर ८ मा ४५५ जनाले सेवा लिए। त्यसमध्य ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

मंगलबार समापनका दिन वडा नम्बर ९ मा ५०० जनाले सेवा लिएका थिए। जसमा १३४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६७ जनलाई शल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निःशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे। उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरू पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताए।

उनले आफू नागरिकको स्वास्थ्यप्रति चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने, पाठेघर सम्बन्धि समस्या, तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निःशुल्क शिविर सञ्चालनमा ल्याइने बताए।

आँखा शिविरमा नगरपालिकाले निःशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो। नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो।

सम्बन्धित
Loading...