
कञ्चनपुर ।
खाद्य संस्थान (खाद्य व्यापार तथा कम्पनी लिमिटेड) महेन्द्रनगर कार्यालयले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन् । कृषकहरूले धान बिक्री गरिसकेपछि खरिद सुरु गरेका कारण खाद्य संस्थान (खाद्य व्यापार तथा कम्पनी लिमिटेड)ले लक्ष्यअनुसार धान खरिद गर्न नसकेको हो ।

१४ हजार क्विन्टल धान खरिदको लक्ष्य भएको संस्थानको महेन्द्रनगरस्थित कार्यालयले एक महिनामा २८ सय क्विन्टल मात्रै धान खरिद गर्न सकेको छ । अहिले कृषकहरूबाट बिक्रीका लागि धान आउने क्रम निकै कम भएको छ । खाद्य संस्थानले मंगलबारसम्म २८ सय १९ क्विन्टल मात्रै धान खरिद गरेको महेन्द्रनगर कार्यालयका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए । उनले न्यून मात्रामा धान आइरहेका कारण खरिदको अवधि एक महिना अझै रहने बताए । ‘धान आइरहेको छैन, तैपनि हामीले एक महिनासम्म काँटा लगाइराख्ने र ढिलो गरी खरिद सुरु भएकै कारण कोटाअनुसार धान नआएको उनको भनाई छ ।

सरकारले गतवर्षभन्दा प्रतिक्विन्टल २१५ रुपैयाँ वृद्धि गरेको मोटो धानको समर्थन मूल्य २९ सय ६७ र मसिनो धानको ३१ सय २८ पुर्याएको थियो । तर समयमै धान खरिद सुरु भएन । कृषकहरूले गतवर्षभन्दा सस्तोमा धान बिक्री गरे । यस वर्ष कृषकहरूले प्रतिक्विन्टल २१—२२ सयका दरले बिक्री गरे । अहिलेसम्म १० हजार क्विन्टल हाराहारी धान खरिद भइसक्नुपर्ने उपाध्याय बताउँछन् । तर संस्थानले खरिद सुरु गर्नुभन्दा अगावै कृषकहरूले व्यपारीकहाँ बिक्री गरिसकेको देखिन्छ । संस्थानले ३ हजार ३५ सय क्विन्टलसम्म धान खरिद हुने अनुमान गरेको छ ।
कञ्चनपुरमा खाद्य व्यापार कम्पनीले पुस १ देखि खरिद सुरु गरेको थियो । सुरुको केही दिन धान आए पनि त्यसपछि भने फाटफुट मात्रै आएको उपाध्यायले बताए । संस्थानको महेन्द्रनगर कार्यालयले १० हजार क्विन्टलको कोटा माग गरेको थियो । केन्द्रले १४ हजार क्विन्टलको अनुमति दियो । गतवर्ष पनि संस्थाले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन । ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य पाए पनि ११ सय ६१ क्विन्टल मात्रै खरिद भएको थियो । कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व प्रतिहेक्टर ४ मेट्रिक टन रहेको छ । यस वर्ष पनि धानबाली भित्र्याउने बेला भएको बेमौसमी वर्षाले उत्पादनमा केही ह्रास आएको कृषि प्राविधिक बताउँछन् । गतवर्ष जस्तो ठूलो क्षति नभए पनि केही ह्रास भएको बताइएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जनकराज जोशीले अब खेतीपातीको समय नै बदल्नुपर्ने देखिन्छ, धान केही ढिलो वा ढिलो पाक्ने धान लगाउनुपर्ने बताए । विगतकै सिजनअनुसार धान लगाउँदा रोपाइँका बेला खडेरीले समस्या हुने र भित्र्याउँदा वर्षाले समस्या हुने गरेको उनको भनाई छ। कान्तीपुरबाट साभार
