
काठमाडौँः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हल्का हिमपात तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
