Skin_Hospital_Dhn

पर्यटनको प्रबर्द्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकूल असर पार्न हुँदैन : सांसद एकनाथ ढकाल

काठमाडौं: संघीय सांसद एकनाथ ढकालले पर्यटनको प्रबर्द्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकूल असर पार्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सांसद ढकालले नेपाल पर्यटन बोर्डको मुख्य काम नेपाल सरकार र निजी क्षेत्रको समन्वयनमा देशभित्र र बाहिर पर्यटनको प्रबर्द्धन गर्ने हो भन्दै पर्यटन ट्रयाक टू डिप्लोमेसी भएको धारणा राखे।

उनले विदेशमा नेपालको पर्यटनको प्रबर्द्धन गर्दा देशको प्रतिष्ठाको पनि अभिवृद्धि हुनुपर्ने बताए। ढकालले सन् २०२३ मा लक्ष अनुसारको संख्यामा पर्यटक नेपाल ल्याउन सफल देखिएपनि प्राथमिकता निर्धारणमा भने कमजोरी रहेको औंल्याए। सन् २०२३ मा नेपाल आएका दश लाखभन्दा बढी पर्यटक मध्य आठ प्रतिशत मुस्ताङ जिल्ला पुग्दा पनि मात्र सात प्रतिशतले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुले हाम्रो पर्यटन प्रबर्द्धनको प्राथमिकतामा कमजोरी रहेको उनको भनाइ थियो।

उनले नेपालमा धार्मिक पर्यटकको विस्तारको योजना बनाउँदा बुद्धिस्ट र हिन्दु पर्यटकका आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रतिनिधिसभा ढकालले पर्यटन बोर्डलाई प्रविधिमैत्री बनाउन सुझाब दिए। उनले पर्यटन बोर्ड र विभागलाई मर्ज गर्ने, निजी कम्पनीको रूपमा सञ्चालन गर्ने भन्ने जस्ता विषय चर्चामा आएकोमा बोर्डको धारणा माग गरे। ढकालले नेपाललाई ‘कन्फेरेन्स भेन्यु’को रूपामा विकास गर्नुपर्ने, शान्ति पर्यटनको विकास गर्नुपर्ने र साना पर्यटन व्यवसायीहरूलाई प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।

सांसद ढकालले पर्यटन धेरै ल्याउने भन्दै जस्तोसुकै पनि पर्यटक ल्याउने नीति भने हुनु हुदैन भने । ढकालले पर्यटन बोर्डले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (एलजीबिटीकिउआइ) लाइ पर्यटन प्रबर्द्धनको प्राथमिकतामा राख्दा धार्मिक पर्यटकलाई कति असर पर्छ भन्ने बारे सचेत हुन पनि आग्रह गर्दै यस्ता बहानामा मित्र राष्ट्र भारत र चीन वाट नेपाल आउने पर्यटकलाइ निरुत्साही नबनाउन पनि बोर्डको ध्यानाकर्षण गरे। ढकालले पर्यटन बढाउने नाममा बिकृति बढ्नु हुन्न भन्दै पर्यटक बढ्छ भनेर गाजा बजार खोल्ने ? भन्दै प्रश्न गरे।

सांसद ढकालले पर्यटनको प्रबद्धन गर्दा नेपालको सामाजिक र पारिवारिक मूल्यमान्यता खण्डित हुन दिन नहुने प्रति पनि बोर्डको ध्यानाकर्षण गराए। ढकालले बोर्डमा पारदर्शिता र सुशाशन कायम हुनु पर्ने बताए ।

सम्बन्धित
Loading...