
धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले साइकल लेन उद्घाटनमा सहभागी हुन सबै नगरबासीलाई आग्रह गरेका छन्। शुक्रबार एक भिडिओ सन्देश जारी गर्दै उनले आफूसँग भएको जस्तोसुकै साइकल ल्याएर साइकल लेन उद्घाटनमा सहभागी हुन अनुरोध गरेका हुन्।
मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगर क्षेत्रभित्र छुट्टै साइकल लेन तयार भएको छ। उपमहानगरले नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो साइकल लेन बनाएको हो। उक्त लेनको भोलि शनिबार बिहान ८ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।


उपमहानगरले ४६ लाख ५० हजार लागतमा सडकको दुवै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरेको छ। दुवैतिर हरियो कलर लगाएर साइकलको ट्याक निर्माण गरिएको छ। सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाएर लेन समेत छुट्याइएको छ।
फुटपाथ र साइकल लेनलाई क्रमिकरूपमा विस्तार गर्दै लैजाने उपमहानगरको योजना रहेको मयेर हमालले बताए। ‘हाम्रो पहिलो प्राथमिकता पैदलयात्री हुन्छ, त्यसपछि साइकल हुन्छ,’ उनले भने, ‘ललितपुरमा पहिलो साइकल लेन छ, दोस्रो अब धनगढीमा भयो। यसको शुभारम्भ साइलक चलाएर गदैैछौँ। त्यसमा सबै नगरबासीलाई सहभागिता जनाइदिन अनुरोध गर्दछु।’ उनका अनुसार साइकल लेन उद्घाटनको साइकल यात्रा चौराहबाट प्रारम्भ भई भन्सार भएर धनगढी विमानस्थल जाने बाटोसम्म पुग्नेछ।
