
धनगढीः कैलालीका विभिन्न पर्यटकीय स्थलमा मौलिक पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको छ । विभिन्न जनजातिको पहिरन लगाएर फोटो खिच्नेदेखि टिकटक, रिल बनाउनेका कारण परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाउन थालेको हो ।
धनगढी उपमहानगरपालिकाको जाखोर ताल, गोदावरी नगरपालिकाको गोदावरी पुल, लम्कि चुहा नगरपालिकाको कर्णाली पुल लगायत पर्यटकीय स्थलमा परम्परागत पहिरन भाडामा दिने व्यवसाय फस्टाइरहेको छ ।


घुम्नका लागि पर्यटकीय स्थलमा पुगेका अवलोकनकर्ताले विभिन्न समुदायको पहिरन भाडामा लिएर लगाउने र पर्यटकीय स्थलमा रमाउने गरेका छन् । थारू, नेवार, तामाङ, गुरुङ, मगरलगायत समुदायका महिलाले लगाउने मौलिक पहिरन र गरगहना भाडामा दिने गरिएको छ । यस्ता पहिरनको प्रतिघण्टाको एक सयदेखि दुई सय रुपैयाँसम्म भाडा लिने गरिएको छ । धनगढीको जाखोर तालमा भाडामा सांस्कृतिक पहिरन उपलब्ध गराउँदै आएकी सुमित्रा रानाले आधा घण्टाको एक सय र एक घण्टाका लागि दुई सय रुपैयाँ भाडा लिने गरेको बताइन् ।
पहिरन भाडा दिने व्यापारबाट कुनै दिन एक/दुई हजारदेखि बढीमा चार/पाँच हजार आम्दानी हुने गरेको उनले उ बताइन् । “अहिले घुम्न आउने घटेका छन् तर दसैँ, तिहारका बेला धेरै व्यक्ति घुम्न आउँदा अझ बढी आम्दानी हुने गर्दछ,” उनले भनिन् ।
विभिन्न जनजाति समुदायको मौलिक पहिरनप्रति मान्छेको आकर्षण बढ्दो छ । कतिपयले सात सय रुपियाँसम्म तिरेर पनि यस्ता पहिरन लगाएर रमाउने गरेको भाडामा पहिरन उपलब्ध गराउँदै आएको ट्विन्स कलेक्सनकी विपना चौधरीको भनाइ छ । सय रुपैयाँमा भाडामा थारू ड्रेस लिएर लगाएको अवस्थामा जाखोर तालमा भेटिनुभएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी रेविका रानाले मौलिक पहिरनमा आकर्षक देखिने बताइन् । गोरखापत्र अनलाइनबाट साभार
