
धनगढी: शनिबार मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रभित्र निर्माण गरिएको छुट्टै साइकल लेनको उद्घाटन गरियो। बिहानै नगरप्रमुख गोपाल हमालसहितका साइकल यात्रीहरुले धनगढीको ट्राफिक चौराह हुँदै भन्सार र भन्सार हुँदै विमानस्थल मार्गसम्म साइकल चलाए।

नगर प्रमुख हमालले सडकमा रेखाङ्कन गरिएको क्षेत्रमा मात्र साइकल चलाउन आग्रह गरे। आ–आफ्नो लेनमा साइलक र गाडी लेनमा अन्य सवारीसाधन हाँक्नू भनेर मेयर हमालले भनेका थिए। तर उद्घाटन गरिएको एक दिन भएको छैनन्, धनगढीको साइलक लेनमा अन्य गाडीले मनपरी गर्न थालेका छन्।

आफ्नो लेन छाडेर जिप, ओटोरिक्सा, पेट्रोलियम पदार्थ बोक्ने गाडीसमेत साइलक लेनमै हुइकिन थालेका छन्। नयाँ सन्देशलाई प्राप्त फोटो हेर्दा साइकल लेनमा अन्य गाडीहरूले मनपरी गरेको देखिन्छ।
साइलक लेनभन्दा यता गाडी हाँक्ने ठाउँ हुँदाहुँदै पनि चालकले साइलक लेनमा चलाइरहेका छन्। यसका साथै साइलक लेनमा गाडी पार्किङ गरेको हुने गरेको छ।
उपमहानगरले नेपालकै दोस्रो तथा सुदूरपश्चिमकै पहिलो साइकल लेन बनाएको हो। उपमहानगरले ४६ लाख ५० हजार लागतमा सडकको दुवै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल ट्याक निर्माण गरेको छ। दुवैतिर हरियो कलर लगाएर साइकलको ट्याक निर्माण गरिएको छ। सडकको दायाँबायाँ प्रिन्ट गर्दै तथा साइकलको तस्वीर बनाएर लेनसमेत छुट्याइएको छ।
