Skin_Hospital_Dhn

सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता

धनगढीः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तीनैजना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ नेकपा (माओवादी केन्द्र) की रेनु चन्द (बैतडी) ले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ।

महिला कोटाबाट निर्वाचित नेकपा (एमाले) का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (डडेल्धुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका) को पदावधि आगामी फागुनमा सकिँदैछ।

प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो।

प्रदेशका सबै नौ जिल्लामा गरी ८८ स्थानीय तह छन्। प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता दुई सय २८ छन्। प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन्। माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन्। पालिका तहका प्रमुख उपप्रमुख/अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा कांग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ।

सम्बन्धित
Loading...