Skin_Hospital_Dhn

पूर्ण खोप घोषणा भइसकेको जिल्लामा देखियो दादुरा संक्रमण

बाँके ।
पूर्ण खोप घोषणा भइसकेको बाँके जिल्लाका चारवटा पालिकामा दादुरा संक्रमण देखा परेको छ । ‘कागजी तथ्यांक’लाई आधार मान्दै पूर्ण खोप जिल्ला घोषणा गरिए पनि जिल्लाको नेपालगन्ज उप—महानगरपालिकामा फैलिएको दादुरा संक्रमण कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकामा देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, जिल्लाका चारवटा पालिकाका २ सय ९ जनामा दादुरा संक्रमण देखा परेको छ । त्यसमध्येमा १ सय ५० जना निको भएका छन् भने ५८ जना उपचारमा छन् । एक जनाको भने मृत्यु भएको छ ।

नेपालगञ्ज उप—महानगरपालिकाको सबैजसो वडामा दादुरा संक्रमण देखिएको छ । उप—महानगरपालिकाले स्वास्थ्य कार्यालयसँग मिलेर १६ वटा वडाको ३६ वटा खोप केन्द्रमा खोप अभियान चलाइरहेको छ । नेपालगञ्जमा मात्रै १ सय ९१ जना बिरामी देखा परिसकेका छन् । त्यसमा १ सय ४७ जना सन्चो भएका छन् । नगरमा ३१ हजार ४२ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

नेपालगञ्जमा फैलिएको संक्रमणलाई रोक्न नपाउँदै जिल्लाका अन्य पालिकामा संक्रमण देखा परेको छ । खजुरा गाउँपालिकामा ३ जनामा संक्रमण देखा परेको छ । खजुराका आठवटै वडामा खोप अभियान सञ्चालन गरिएको छ । त्यसमा २० वटा खोप केन्द्र छन् । खजुरामा दादुराविरुद्धको खोप लगाउने १८ हजार ४ सय ५९ जना लक्षित बालबालिका रहेका छन् । दादुरा संक्रमण फैलिएपछि ६ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइएको छ । मासिक सञ्चालन हुने अभियानमा १५ महिनाभित्रका बालबालिकालाई खोप लगाइन्छ ।

कोहलपुर नगरपालिकामा २ जना र नरैनापुर गाउँपालिकामा १ जनामा दादुरा संक्रमण देखा परेको छ । यी पालिकामा पनि दादुराविरुद्धको खोप अभियानको तयारी गरिएको छ ।

बाँकेमा आठवटा पालिका छन् । त्यसमध्ये चारवटामा दादुरा देखा परिसकेको छ । नियमित रूपमा सञ्चालन हुने दादुरा खोप नलगाएका बालबालिकामा संक्रमण देखिएको छ । सरकारी तथा गैरसरकारी संस्थाको रिपोर्टमा बाँकेमा खोप नलगाएका व्यक्ति कमै रहेका छन् । त्यही निकायले अहिले फैलिएको संक्रमणलाई खोप नलगाएको व्यक्तिमा देखिएको बताइरहेका छन् ।

सरकारले सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । दश हजार बच्चामा एक जनाभन्दा कममा दादुरा देखिएमा निवारण भएको मानिन्छ ।

सम्बन्धित
Loading...