
धनगढीः सुदूरपश्चिम प्रदेशसभामा पाँच संसदीय समिति बनाउने सहमति भएको छ। सत्ता गठबन्धनका दलहरूबीच विषयगत समिति थप गरेर समितिको जिम्मेवारी दिने सहमति भएको हो।
सोमबार मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा बसेको सत्ता गठबन्धन दलबीच समिति थप गर्ने सहमति भएको जनाइएको छ। उनीहरूबीच विधायन तथा प्रदेश मामिला समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ भने सामाजिक विकास समितिको नेतृत्व एकीकृत समाजवादी पार्टीले लिने भएको छ।


नेकपा (माओवादी) केन्द्रले नेतृत्व गर्ने समिति अहिले प्रदेशसभामा छैन। सो समितिको नाम विशेष अधिकार समिति गठन गर्ने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका दलका नेता घनश्याम चौधरीले जानकारी दिए।
उन्मुक्तिले अर्थ विकास तथा प्राकृतिक समिति लग्ने र लेखा समिति प्रतिपक्षी दलले लग्ने सहमति भएको छ। लेखा समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि दाबी रहेकाले निर्वाचन हुने देखिएको छ।
समितिका सभापतिको निर्वाचन पुस २५ गते हुने तालिका छ। सुदूरपश्चिम प्रदेशसभा ५३ जनाको हुने भए पनि बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना परेर मृत्यु भएकाले अब प्रदेशसभामा ५२ सदस्य रहेका छन्।
