युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमायो
काठमाडौं ।
म्यानचेस्टर युनाइटेडले अन्तिम मिनेटमा सम्हालिन नसक्दा बुधबार राति इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको छ । यससँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
उसले ब्रुनो फर्नान्डेजको गोलबाट युनाइटेडले ४३ औँ मिनेटमा अग्रता लिएको थियो । यससँगै युनाइटेड लगातार दशौँ जित नजिक थियो । तर, चार मिनेट इन्जुरी समयको पहिलो मिनेटमा माइकल ओलिसले गोल गरेपछि क्रिष्टल प्यालेस अंक खोस्न सफल भयो ।
यससँगै युनाइटेडको सबैखाले प्रतियोगितामा गरी लगातार नौ खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । बराबरीपछि १९ खेलबाट ३९ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी हो । र, शीर्ष स्थानको आर्सनलभन्दा आठ अंकले पछाडि हो । तर, युनाइटेडले एक खेल बढी खेलेको छ ।
१९ खेलबाट २३ अंक जोडेको क्रिष्टल प्यालेस १२ औँ स्थानमा छ ।
युनाइटेडले आइतबार शीर्ष क्लब आर्सनलको भ्रमण गर्नेछ । तर, गएराति मिडफिल्डर कासेमिरोले पहेँलो कार्डको सामना गरेपछि उनी आर्सनलविरुद्ध खेल्नेछैनन् । यसले युनाइटेड समर्थकलाई निराश बनाएको छ ।
“हामी बराबरीमा खुसी छैनौँ । हामीले यो खेल जित्नुपथ्र्यो,’’ युनाइटेडको ब्रुनो फर्नान्डेसले भने, “उनीहरूले अन्तिम मिनेटमा उत्कृष्ट गोल गरे । त्यसकारण हामीले पुनरागमन गर्ने मौका पाएनौँ । हामी अब अगाडिको खेलमा केन्द्रित हुनुपर्छ । हामी अझै राम्रो काम गर्न सक्छौँ । तर, हामी यस नतिजाबाट वास्तवमै निराश छौँ ।’’