
धनगढीः निर्विरोध रूपमा निर्वाचित भएका सुदूरपश्चिम प्रदेशसभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन्। प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमका बीच चारै जना सभापतिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको एक वर्षभन्दा बढी समय पछि बुधबार विषयगत समितिका सभापति चयन गरिएको हो। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना बुधबार निर्विरोध भएका थिए।


निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा माया पन्त छन्।
निर्वाचित सभापतिमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुन्।
नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ।
