Skin_Hospital_Dhn

कञ्चनपुरमा ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ सञ्चालन

कञ्चनपुर: थारु समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ। ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो।

केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतिका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने छ। यसका लागि २० लाख बजेट छुट्याइएको छ। राना थारु समुदायका विपन्न वर्गका लागि सय प्रतिशत र अन्यका हकमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने छ।

थारु समुदाय विपन्न वर्ग भएको प्रमाणपत्रसँगै अनुसूची–५ अनुसारको प्रस्तावसहितको निवेदन, खेती गरिने जग्गाको कागजपत्र, समूह र सहकारीको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने कार्यालय प्रमुख सिजापतिले बताए। थारु समुदायलाई आर्थिकरुपले सबल बनाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

सो कार्यक्रमअन्तर्गत बसन्ते मकै र तरकारीको बीउ, मलखाद, कृषि औजार, यन्त्र, सिँचाइ र अन्य प्रविधिलगायत पनि अनुदान रकम खर्च गरिनेछ। प्राविधिक कर्मचारीले स्थलगत अनुगमन गरेपछि पेस गरिएको प्रतिवेदनका आधारमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ।

सम्बन्धित
Loading...