
धनगढी: कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ।
मोटरसाइकल दुर्घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती ३५ वर्षीया मैसरा ढकालको ज्यान गएको हो।


बुधवार साँझ कैलालीको मोहन्याल गाउँपालिका–७ मा पर्ने कुइने चिसापानी सडक खण्डको पितमारीमा दुर्घटना भएको हो। ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल सडकबाट दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उनीहरू अछामबाट बर्दियाको भुरीगाऊँतर्फ आइरहेका थिए।
बुधवार साँझ करिब सात बजेतिर नदीमा खसेका दुवै जनालाई मोटर बोट र र्याफ्टिङको सहायताले उद्धार गरिएको थियो। मृतकका शव टीकापुर अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।
मृतक ढकालका दुई छोरा एक छोरी बर्दियाको भुरीगाऊँमा बसेका छन् भने ढकाल अछामको विनायक बजारमा बिजुली पसल राखेर विद्युतको काम गरिरहेका उनका आफन्त चक्र तिमिल्सिनाले जानकारी दिए। मृतकका बुवा मोतीराम ढकालको पनि पाँच वर्षअघि अछाममा बस दुर्घटनामा परी ज्यान गएको थियो।
