
धनगढीः कैलालीको अत्तरियामा बिहीबारदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई नौ किलोको माला लगाइएको छ।
प्रादेशिक महोत्सवको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरलाई ६ वटा मागसहित नौ किलोको माला लगाइएको हो। संघले पूर्वमन्त्रीसमेत रहेका बलायरलाई ६ बुँदे माग पत्र पनि बुझाएको छ।

संघको मागपत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक पहल गर्न भनिएको छ।
त्यस्तै, अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरुको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन भनिएको छ।
महोत्सवको आठौँ संस्करणलाई भव्यताका साथ सफल पारी नवौँ संस्करणको महोत्सव आयोजना गर्ने आधार बनाउनुका साथै प्रादेशिक महोत्सव पनि भएकाले सुदूरपश्चिमका नौ ओटै जिल्ला समेट्ने गरी नौ किलोको माला लगाइएको आयोजकले जनाएको छ। महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ।
