Skin_Hospital_Dhn

कञ्चनपुरको सामुदायिक वनमा काँचा सालका रुख कटानी

कञ्चनपुरः जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीस्थित गडबिजुला सामुदायिक वनमा काँचा सालका खडा रुख कटानी गरी तस्करी गरेको पाइएको छ। सामुदायिक वनमा तीन सालका रुख कटानी गरी तस्करी गरेको पाइएको हो।

सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीले वन गस्तीमा जाने क्रममा तस्करले मेसिनको प्रयोग गरी सालका रुख कटानी गरी लगेकोे पाइएको बताए। रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिएको उनले बताए।

दिउँसो मात्रै वनमा हेरालुको व्यवस्था रहेको जनाउँदै उनले राती वन गस्तीका लागि वन हेरालु राख्न नसक्दा रुख तस्करी हुन थालेको बताए। ‘पूर्व पश्चिम राजमार्गमा राखिएका सिसिटिभी क्यामेरामा गुलरीया तर्फबाट दुई ट्राक्टर वनतर्फ आएको देखिन्छ, तीन घण्टापछि ट्रलिमा काठ छोपेर लगेको देखिन्छ’, उनले भने, ‘त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइएको छ।’

सालका रुख कटानी भएको देखिएपछि सबडिभिजन वन कार्यालय बाणीमा खबर गरिएको उनले बताए। उनले सामुदायिक वनका पदाधिकारी र उपभोक्ता काठ तस्करीमा कोही पनि संलग्न भएको नदेखिएको बताए। अहिले वन क्षेत्रमा नियमित राति र दिउँसो वनका पदाधिकारी, सबडिभिजन कार्यालयका वनरक्षक, उपभोक्तालगायतले संयुक्तरुपमा गस्ती गरिरहेको उनले जानकारी दिए।

सबडिभिजन वन कार्यालयका प्रमुख अमर धामीले सामुदायिक वनमा रुख कटानी गरी तस्करी भएको पाइएपछि वनका पदाधिकारीलाई चिठ्ठी लेख्ने कार्य गरिएको बताए। ‘सामुदायिक वनमा काठ कटानी गरिएको जानकारी पाउना साथ डिभिजन वन कार्यालयका प्रमुखसहितले राति नै गस्ती गरेका छौँ’, उनले भने, ‘वन रक्षकलाई नियमित गस्तीका लागि खटाइएको छ।’

अनुसन्धानमा काठ कटानी गरी तस्करी गर्ने शङ्कास्पद व्यक्ति नजिक पुग्ने बलियो आधार तय भएको उनले बताए। ‘जोसुकै भए पनि छाड्दैनौँ’, उनले भने, ‘तस्कर छिट्टै पक्राउ पर्छन्।’ समिलमा हेर्ने कार्य भइरहेको जनाउँदै उहाँले डिभिजन वन कार्यालय कैलालीसँगसमेत समन्वय गरी अनुसन्धानको कार्य अगाडि बढाइएको जानकारी दिए। -रासस

सम्बन्धित
Loading...