Skin_Hospital_Dhn

कञ्चनपुरमा मृत भेटिएका वडाध्यक्षको घटना शंकास्पद भएको भन्दै प्रहरीमा जाहेरी

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काको मृत्यु घटना शंकास्पद भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएको छ।

सवारी ज्यान मुद्दाअन्तर्गत घटना शंकास्पद भएको भन्दै अनुसन्धानका लागि मृतक खड्काकी श्रीमतीले प्रहरीमा जाहेरी दिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार घटनाको सत्य, तथ्य छानबिनको माग गर्दै सवारी ज्यान मुद्दामा पीडित परिवारकोतर्फबाट जाहेरी दिइएको छ।

भीमदत्त नगरपालिका–६ ऐंठपुरस्थित महाकाली सिँचाइ नहरको सडकमा खड्काको शव घोप्टो परेको अवस्थामा बिहीबार बिहान फेला परेको थियो। सँगै उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल लडेको थियो।

उनको खुट्टाको एउटा जुत्ता फुत्किएर सडकमै थियो । मृतक खड्काको निधारमा चोट छ भने हात खोस्रिएको छ। सडकमा असरल्ल छोडिएका खानेपानी पाइपमा ठोक्किएर खड्का मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने आशंका छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। घटना बुधबार राति भएको हुनसक्ने आशंका छ। बिहीबार बिहान सडकमा मानिस र मोटरसाइकल लडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

वडाध्यक्ष खड्का बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा सहभागी भएका थिए। त्यसपछि प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीको बिदाइ कार्यक्रममा पनि उनी सहभागी भएका थिए। खड्का भीमदत्त नगरपालिका–६ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

सम्बन्धित
Loading...