
काठमाण्डौं ।
एमाले अध्यक्ष केपी ओलीले एमालेले उठाएको उम्मेदवारसँग सबै दल सहमत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका लागि समझदारी जुटाउन प्रयत्न गरिरहेका छन् नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । यसमा राष्ट्रिय सहमति हुन्छ । एमालेको उम्मेदवार को हुन्छ भन्ने पछि भनौँला ।’

यसअघि रामचन्द्र पौडेल उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदा आफूले विरोध गरे पनि त्यो निरन्तर चलेकोले फेरि पनि यस्तो संयन्त्र बनाउँदा विरोध नहुने उनले बताए ।
‘कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर नयाँ सुरुवात गर्यो । मैंले त्यतिखेर नमानेको हो । चाहिँदैन भनेको हो । आज तपाईंले नमानेको भनेर हुन्छ’, ओलीले भने, ‘यो अभ्यास कांग्रेसले नै शुरू गरेको हो । बेलगाम चल्ने कुरा, थितिमा नबाधिने कुरा र विधिमा नबाँधिने कुरा आएका छन् । प्रबन्धमा नबाँधिनुलाई पिँजाडा ठान्ने कुरा अशुभ संकेत हुन् ।’
