
धनगढीः नेपालका चर्चित एक्सन अभिनेता विराज भट्टका छोरा समीर भट्टले चलचित्रमा डेब्यू गर्ने भएका छन्। ‘विराज भट्ट प्रोडक्सन’ले निर्माण हुन लागेको चलचित्र ‘१२ गाउँ’ बाट समीरले डेब्यू गर्न लागेका हुन्।
विराज आफैंले निर्देशन गर्न लागेको फिल्ममा छोरो समीरलाई अगाडि सारेका छन्। चार वर्षअघि फिल्म ‘साङ्लो’ निर्माण गरेका विराज दोस्रो फिल्मको सुरसारमा जुटेका छन्। आफैं निर्देशन बन्न लागेको दोस्रो फिल्ममा उनले छोरालाई डेब्यू गराउने घोषणा गरेका हुन्।


आइतबार दिउँसो छोराको सिक्स प्याकवाला, बडी बिल्डर फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै विराजले अब बन्ने फिल्ममा छोरालाई डेब्यू गराउन लागेको जानकारी दिए।
सिक्स प्याकवाला फोटो देखाउँदै लेखेका छन्, ‘१२ गाउँबाट डेब्यू गर्दै। जय नेपाल, जय नेपाली सिनेमा!’ फिल्मका अन्य कलाकारको छनोट गर्न बाँकी रहेको छ। समीर केही वर्ष यता भारतमा बसेर मार्सल आर्ट, नृत्य र अभिनय सिकिरहेका थिए।
एक्सन अभिनेताका रूपमा परिचित विराजले छोरोलाई पनि एक्सनकै रूपमा उतार्न लागेको बुझिन्छ। ‘१२ गाउँ’ फिल्म आगामी फागुनबाट छायांकनमा जाने तयारी छ। यो फिल्ममा सन्तोष सरकारले कथा तथा पटकथा लेखेका हुन्।
