
धनगढीः २०५१ सालदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा भएको परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए । तर, एक वर्ष पनि नचलेर सो विमानस्थल पुनः बन्द हुन पुगेको हो ।
अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती टिकटक बनाउँछन् । २०७७ असोजदेखि २०७८ चैतसम्म १५/१६ पटक फ्लाइट भयो होला,’ पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले भने, ‘सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल थियो, यात्रु नपुगेपछि एक पटक राखियो, तैपनि लोड पुगेन र बन्द गरियो।’

नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । विमानस्थलको पछिल्लो तीन वर्षको कार्यालय सञ्चालन खर्च मात्रै १४ लाख २३ हजार रुपैयाँ छ । दार्चुला र डडेलधुरामा पनि विमानस्थल निर्माणका नाममा ठूलो रकम खर्च भइरहेको छ ।

दार्चुलामा चमेलिया नदी किनारमा निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि ३ करोड खर्च भइसकेको छ भने थप २० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त निर्माणाधीन विमानस्थलबाट पाटन विमानस्थलसम्मको सडक दूरी ६८ किमि (हवाई दूरी १२.२७ नटिकल माइल) मात्र छ । पाटन विमानस्थलबाट करिब ६ नटिकल माइलमा रहेको डडेलधुरामा नयाँ विमानस्थलको प्रस्ताव ल्याइएको छ ।
सो विमानस्थलको सम्भाव्यता अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुसमा ५० लाख विनियोजन गरेका थिए । जब कि हवाई नीति २०६३ को दफा ५.७.१ ले हिमाली र पहाडी क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी साधारणतया २० नटिकल माइल हुनुपर्ने व्यवस्था गरेको छ । डडेलधुराबाट ५७ किमिको सडक दूरीमा रहेको दिपायल विमानस्थल पनि बन्द छ ।
आठ वर्षअघि ५ करोड ३४ लाख रुपैयाँ खर्चेर स्तरोन्नति गरिए पनि यात्रु अभावमा उडान हुन सकेन । एक दशकमा यही विमानस्थलको कार्यालय सञ्चालनका नाममा ८१ लाख खर्च भएको छ । २०७८ पुस ११ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरको अध्यक्षतामा बसेको उड्डयन प्राधिकरणको बैठकले डडेलधुरालगायत सुदूरपश्चिमका १० विमानस्थलका लागि १ अर्ब ३२ करोड १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
कालोपत्र भइसकेको साँफेबगर विमानस्थललाई ३ करोड र साँफेबगरबाट १२ नटिकल माइल (६७ किमि सडक दूरी) मात्र टाढाको कमलबजार विमानस्थल सुदृढीकरणका लागि ३ करोड छुट्याइएको थियो । १० विमानस्थलमध्ये धनगढी र बाजुरामा मात्रै नियमित सञ्चालनमा छन् । बझाङ र साँफेबगरमा कहिलेकाहीं मात्रै जहाज पुग्छ ।
धनगढीस्थित क्षेत्रीय विमानस्थलबाट एक घण्टाको सडक दूरी (२६ नटिकल माइल) मा रहेको महेन्द्रनगर विमानस्थललाई पनि मन्त्री आलेले २ करोड ५१ लाख विनियोजन गरेका थिए । हवाई नीति २०६३ मा तराई क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी ४० नटिकल माइल हुनुपर्ने व्यवस्था छ । २०३० सालमा बनेको यो विमानस्थलको स्तरोन्नति भएपछि २०७८ पुस २८ मा आलेले पुनः उद्घाटन गरे । आधारभूत पूर्वाधार अभाव र पछौटेपनको सिकार बन्दै आएको सुदूरपश्चिम प्रदेशमा जनताको जीवनयापनसँग जोडिएका क्षेत्रमा लगानी गर्नुको साटो नीतिनियम मिच्दै, सञ्चालनमै आउन नसक्ने विमानस्थलमा रकम खन्याइएको स्थानीयलाई मन परेको छैन । कान्तिपुरबाट साभार
