
कञ्चनपुरः नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाकाली करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताएका छन् ।

कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा प्रमुख सचेतक लेखकले करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका हुन् ।

पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए ।
विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उनले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए ।
