
काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताएका छन् । २६औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिँदै सो कुरा बताएका हुन् ।

“वि.स. १९९० सालमा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ।” उनले भने, “आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्न राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।”

“आगामी दिनमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न सकौँ भन्ने दिन पनि हो,” प्रधानमन्त्रीले भने, “आउनुस्, त्यसका लागि हामी सबैले सङ्कल्प गरौँ। भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात् गरौँ ।”
कार्यक्रममा प्रधानमन्त्रीले २०७२ वैशाख १२ को भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी भएको बताउँदै विगतबाट गम्भीर शिक्षा लिनुपर्नेमा उनले जोड दिए ।
