
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले लागुऔषधका मुख्य व्यापारी र एजेण्टलाई पक्राउ गर्न प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीलाई आग्रह गरेका छन्।
सुदूरपश्चिमका युवाहरू लागुऔषध तथा दुर्व्यसनको सिकार उल्लेख गर्दै मुख्यमन्त्री शाहले बुधबार लागुऔषधको मुख्य कारोबार गर्ने डिलर एजेण्टहरू नियन्त्रणमा नआए लागुऔषध तथा दुर्व्यसनको अवस्था थप भयावह हुने बताए।


प्रदेश सरकारका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय हो। यसको जरैसम्म नपुगी यो अवस्थाबाट हामी पार पाउँदैनौँ,’ उनले भने, ‘त्यसका लागि डिलर र एजेण्टलाई पक्राउ गर्नुपर्छ। प्रदेश सरकार त्यसका लागि प्रहरीलाई आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छ।’
डीआईजी केसीले निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा कहिल्यै नचुक्ने बताए। उनले लागुऔषध कारोबारलाई जरैबाट उखेल्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आइतबार मात्रै हाजिर भई पदभार सम्हालेका थिए।
