
काठमाडौँ: भारतले एकै खेलबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएका तीनवटा विश्व कीर्तिमान तोडेको छ। भारतले तेस्रो तथा अन्तिम टी–२० आई खेलमा अफगानिस्तानविरुद्ध दोस्रो सुपर ओभरमा रोमाञ्चक विजय प्राप्त गर्ने क्रममा नेपालका तीनवटा विश्व कीर्तिमान तोडेको हो।
बेंगलोरस्थित चिन्नास्वामी स्टेडियममा जितका लागि २१३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा अफगानिस्तानले १६ रन बनाएपछि पुनः टाई भएको थियो। दोस्रो सुपर ओभरमा भारतले ११ रन बनाउँदा अफगानिस्तानले मात्र १ रन बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। भारतीय कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित सर्वाधिक १ सय २१ रनमा नट आउट रहे। रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे।
४.३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगिसकेको भारतलाई रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गर्दै लयमा फर्काएका थिए।

भारतले अन्तिम १२ बलमा ५८ रन जोडेको थियो। अन्तिम ओभरमा भारतले करिम जन्नतलाई ५ छक्कासहित कूल ३६ रन जोडेको थियो । १९औँ ओभरमा भारतले २२ रन जोडेको थियो। त्यही क्रममा भारतले नेपालका तीन विश्व कीर्तिमान तोडेको हो।
अन्तिम दुई ओभरमा सर्वाधिक रन : भारतले अन्तिम दुई ओभरमा ५८ रन जोड्यो। टी–२० क्रिकेटमा अन्तिम दुई ओभरमा जोडेको यो अहिलेसम्मकै बढी रन हो। यसअघि गत सेप्टेम्बरमा चीनमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध अन्तिम २ ओभरमा ५५ रन जोडेर विश्व कीर्तिमान बनाएको थियो।
डेथ ओभरमा सर्वाधिक रन : भारतले डेथ ओभर अर्थात् अन्तिम ५ ओभरमा अफगानिस्तानविरुद्ध १०५ रन बनाएको छ। टी–२० आईमा डेथ ओभरमा जोडेको यो अहिलेसम्मकै धेरै रन हो। यसअघि नेपालले मंगोलियाविरुद्ध डेथ ओभरमा ८९ रन जोडेर विश्व कीर्तिमान कायम गरेको थियो।
पाँचौँ विकेटका लागि उच्च साझेदारी : बुधबारको खेलमा अफगानिस्तानविरुद्ध भारतका रिंकु र रोहितले पाँचौँ विकेटका लागि ९५ बलमा १९० रनको विश्व कीर्तिमानी साझेदारी गर्दै नेपालको विश्व कीर्तिमान तोडेको छ।
गत अक्टोबरमा मूलपानी क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई शृंखलामा नेपालका दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले हङकङविरुद्ध १४५ रनको साझेदारी गरेर विश्व कीर्तिमान रचेका थिए। तर भारतले यो पनि तोडिदिएको छ।
