
बैतडीः बैतडीमा टिप्पर दुर्घटनामा परेर घाइते भएका सहचालकको मृत्यु भएको छ। जिल्लाको मेलौलीबाट पाटनतर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर दुर्घटनामा परेर मेलौली नगरपालिका–१ का १९ वर्षीय रोहित दयालको मृत्यु भएको हो।

टिप्पर दुर्घटना परेर घाइते भएका सहचालक दयालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए। जेसिबी मगाएर उद्धार गर्दा दयाल मृत फेला परेको जोशीले बताए।

लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक बिहीवार बिहान साढे ८ बजे टिप्पर दुर्घटनामा परेको थियो। चालक मेलौली–१ का २४ वर्षीय गम्भीर टमटालाई सामान्य चोट लागेको छ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। टिप्पर सडकबाट ५० मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
