
काठमाडौँ: बिहीबार निधन भएका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शुक्रबार परिवार तथा संगीतकर्मीको उपस्थितिमा पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो।
वैद्यलाई उनका छोरा लोकस नन्दनले दागबत्ती दिए। पशुपति आर्यघाटमा अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई नेपाल संगीतकार संघले नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेको थियो।

सोही क्रममा विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटा, संगीतकार चेतन सापकोटा, वसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तानलगायत थुप्रै संगीतकर्मीले फूलमाला समर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
‘सपना भुलाई सारा आँसु पिएर जाउ’ बोलको गीत गाउँदै संगीतकर्मीले उनीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए। ७७ वर्षीय वैद्यको बिहीबार राति साढे १२ बजे काठमाडौँको सुन्धारास्थित भ्याली अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्।
१२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए। इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्याए।
रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए। मोहम्मद रफी, तलत महमुदलगायतको। सबैले तारिफ गरे। उनको स्वरपरीक्षा त्यही भयो।
किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत रेकर्ड भयो, ‘कति प्यासी छ जिन्दगी…’ ०२२ मा। त्यसपछि एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु…’ । एमएस्सी पढ्दा केही समय गाएनन् । त्यसपछि रत्न रेकर्डिङ संस्थानमा एकैपटक चारवटा गीत डिस्क रेकर्ड भए । कति प्यासी.. सहित नित्य नयनमा तारा, प्रेमको अधुरो कहानी…।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश। करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए। उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए।उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।
